फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
काठमाडौँ, ११ असार – अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६ अन्तर्गत एन्फामाथि निलम्बनको निर्णय गरिएको जानकारी दिएको हो। निलम्बनसँगै एन्फाले फिफाको सदस्यका रूपमा प्राप्त गर्दै आएका सबै अधिकार तत्कालका लागि गुमाएको छ। साथै, फिफा विधानको धारा १३ अन्तर्गत उपलब्ध सदस्यता सम्बन्धी सबै सुविधा पनि स्थगित गरिएको छ।
फिफाले जारी गरेको सूचनाअनुसार निलम्बन कायम रहुञ्जेल एन्फासम्बद्ध राष्ट्रिय फुटबल टोली तथा नेपाली क्लबहरूले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन्। फिफाले अर्को निर्णय वा सूचना जारी नगरेसम्म एन्फामाथिको निलम्बन यथावत् रहने जनाएको छ। निलम्बनको कारणबारे भने फिफाले विस्तृत विवरण सार्वजनिक गरेको छैन।

