विश्वकप फुटबलः स्विट्जरल्यान्ड समूह विजेता बन्दै नकआउट चरणमा

काठमाडौँ, ११ असार – स्विट्जरल्यान्डले घरेलु टोली क्यानडालाई २–१ गोलअन्तरले पराजित गर्दै फिफा विश्वकप–२०२६ को नकआउट चरणमा प्रवेश गरेको छ। क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा आज सम्पन्न समूह ‘बी’ अन्तर्गतको खेलमा स्विट्जरल्यान्डले महत्वपूर्ण जित निकाल्दै सात अङ्कसहित समूह विजेताको रूपमा अन्तिम १६ मा स्थान सुरक्षित गर्‍यो।

स्विट्जरल्यान्डका लागि रुबेन वर्गासले खेलको ४६औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि ५७औँ मिनेटमा जोहान मान्जाम्बीले अर्को गोल थप्दै स्विट्जरल्यान्डको अग्रता २–० पुर्‍याए। क्यानडाले ७६औँ मिनेटमा प्रमिस डेभिडमार्फत एक गोल फर्काउँदै खेलमा पुनरागमनको प्रयास गरे पनि थप गोल गर्न नसक्दा २–१ को हार बेहोर्नुपर्‍यो।

पराजित भए पनि क्यानडाले तीन खेलबाट चार अङ्क जोड्दै समूहको दोस्रो स्थानमा रहँदै नकआउट चरणमा स्थान बनाएको छ। समान चार अङ्क रहेको बोस्निया एन्ड हर्जगोभिना गोलअन्तरमा पछि पर्दै तेस्रो स्थानमा सीमित भयो। यसै समूहको अर्को खेलमा बोस्निया एन्ड हर्जगोभिनाले कतारलाई ३–१ ले पराजित गर्दै प्रतियोगितामा आफ्नो सम्भावना जीवित राखेको छ।

तेस्रो स्थानमा रहेको बोस्नियाले उत्कृष्ट तेस्रो टोलीका रूपमा नकआउट चरणमा पुग्ने आशा कायम राखेको छ। एक अङ्क मात्र जोड्न सफल कतार भने समूह चरणबाटै प्रतियोगिताबाट बाहिरिएको छ।

Facebook Comments Box