गोलकिपर रुमको उत्कृष्ट प्रदर्शनमा कुरासाओले इक्वेडरलाई रोक्यो, विश्वकपमा पहिलो अंक
काठमाडौँ, ७ असार – गोलकिपर एलोय रुमको उत्कृष्ट प्रदर्शनको मद्दतले कुरासाओले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’को खेलमा इक्वेडरलाई गोलरहित बराबरीमा रोक्दै प्रतियोगितामा पहिलो अंक जोडेको छ। अमेरिकाको कान्सास सिटी स्टेडियममा आइतबार बिहान सम्पन्न खेलमा इक्वेडरले लगातार आक्रमण गर्दै गोलका थुप्रै अवसर सिर्जना गरे पनि कुरासाओका अनुभवी गोलकिपर रुम बाधक बने। ३७ वर्षीय रुमले खेलभर १५ वटा महत्वपूर्ण बचाउ गर्दै टोलीलाई हारबाट जोगाए।
अमेरिकाको मेजर लिग सकर (एमएलएस) अन्तर्गत मायमी एफसीबाट खेल्ने रुम विश्वकपमा एकै खेलमा सर्वाधिक बचाउ गर्ने कीर्तिमान नजिक पुगेका थिए। विश्वकप इतिहासमा एकै खेलमा सर्वाधिक १६ बचाउ गर्ने कीर्तिमान अमेरिकी गोलकिपर टिम हावर्डको नाममा छ, जसले सन् २०१४ मा बेल्जियमविरुद्धको अन्तिम १६ को खेलमा उक्त उपलब्धि हासिल गरेका थिए।
कुरासाओले पनि केही राम्रा अवसर सिर्जना गरेको थियो। तर इक्वेडरका गोलकिपर हर्नान गालिन्डेजले तीन महत्वपूर्ण बचाउ गर्दै टोलीलाई गोल खानबाट जोगाए। समूह ‘ई’मा जर्मनीविरुद्धको पहिलो खेलमा विश्वकप इतिहासको पहिलो गोल गरेको कुरासाओले दोस्रो खेलमा अंक जोड्दै अर्को ऐतिहासिक उपलब्धि हासिल गरेको हो।
बराबरीसँगै इक्वेडर र कुरासाओ दुवैले समूहमा एक–एक अंक जोडेका छन्। इक्वेडर पहिलो खेलमा आइभरी कोस्टसँग १–० ले पराजित भएको थियो भने विश्वकपमा डेब्यु गरेको कुरासाओ पहिलो खेलमा चार पटकको विश्व विजेता जर्मनीसँग ७–१ ले पराजित भएको थियो।विश्वकप खेल्ने सबैभन्दा सानो राष्ट्रको कीर्तिमान बनाएको कुरासाओले यस प्रतियोगितामा पहिलो गोल र पहिलो अंक दुवै हासिल गर्दै आफ्नो उपस्थितिलाई स्मरणीय बनाएको छ।
अब समूह चरणको अन्तिम खेलमा कुरासाओले आइभरी कोस्टसँग प्रतिस्पर्धा गर्नेछ भने इक्वेडरले जर्मनीको सामना गर्नेछ। दुवै टोलीको नकआउट चरणमा पुग्ने सम्भावना अझै जीवित रहे पनि त्यसका लागि अन्तिम खेल जित्नुपर्ने दबाब रहेको छ। यदि अन्तिम खेलमा दुवै टोली पराजित भए वा बराबरीमा रोकिए भने नकआउट चरण पुग्ने सम्भावना समाप्त हुनेछ। यसअघि आइभरी कोस्टलाई २–१ ले पराजित गर्दै जर्मनी भने एक खेलअघि नै नकआउट चरणमा स्थान सुरक्षित गरिसकेको छ। आइभरी कोस्ट तीन अंकसहित समूहको दोस्रो स्थानमा रहेको छ।

