पेप्सिकोलास्थित चाउचाउ गोदाममा आगलागी, क्षतिको विवरण आउन बाँकी

काठमाडौं, १५ असार – काठमाडौंको पेप्सिकोलास्थित एक चाउचाउ गोदाममा गएराति आगलागी भएको छ। दमकल र सुरक्षा निकायको सक्रियतामा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आइतबार राति करिब १२ः३० बजे काठमाडौं महानगरपालिका–३२, पेप्सिकोला सूर्यमुखी चोकस्थित जस्ताको टिनले बनेको एकतले टहरामा आगलागी भएको हो।

आगलागीबाट धिरेन्द्र रञ्जितकारले सञ्चालन गर्दै आएको ‘मा ट्रेडर्स’ को गोदाम तथा धिरेन्द्र रञ्जितकार, उमेश कवाङ, रत्नदास श्रेष्ठ र ज्ञानरत्न मानन्धरको संयुक्त सञ्चालनमा रहेको तलेजु भवानी ट्रेड कन्सर्न प्रालि को गोदाममा क्षति पुगेको छ। प्रहरीका अनुसार आगो निभाउन काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकाका गरी तीनवटा दमकल परिचालन गरिएको थियो।

दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो। आगलागीको कारण र त्यसबाट भएको आर्थिक क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

Facebook Comments Box