मधेश सरकारले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट

जनकपुरधाम, १ असार – मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

सोमबार प्रदेश सभामा अर्थमन्त्री युवराज भट्टराईले प्रस्तुत गर्नुभएको बजेटमा चालु खर्चतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार रुपैयाँ र पुँजीगत खर्चतर्फ २६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार रुपैयाँ विनियोजन गरिएको छ।

कुल बजेटमध्ये चालु खर्च ३५.५४ प्रतिशत तथा पुँजीगत खर्च ६४.३५ प्रतिशत रहेको छ। बजेटले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा वन क्षेत्रलाई प्राथमिकतामा राखेको छ।

बजेटको स्रोत व्यवस्थापनका लागि आन्तरिक स्रोत तथा राजस्वबाट ११ अर्ब २२ करोड ७५ लाख रुपैयाँ जुटाइने प्रस्ताव गरिएको छ। त्यस्तै, संघीय सरकारबाट राजस्व बाँडफाँटमार्फत १२ अर्ब ८३ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

संघीय सरकारबाट प्राप्त हुने वित्तीय अनुदान ९ अर्ब ४९ करोड ५९ लाख रुपैयाँ रहने अनुमान गरिएको छ भने चालु आर्थिक वर्षको बाँकी नगद मौज्दातबाट ६ अर्ब ८ करोड ५२ लाख रुपैयाँ उपयोग गरिनेछ। साथै, एक अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋणमार्फत संकलन गर्ने लक्ष्य राखिएको छ।

बजेटमा संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ७ अर्ब ८४ करोड ८५ लाख, सशर्त अनुदान ८ अर्ब १० करोड २८ लाख, समपूरक अनुदान ९४ करोड ७४ लाख तथा विशेष समपूरक अनुदान ७० करोड रुपैयाँ रहने उल्लेख गरिएको छ। यी शीर्षकअन्तर्गत कुल १७ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

Facebook Comments Box