गोदावरी नदीको बाढीमा बगेकी एक महिलाको शव फेला, अर्की अझै बेपत्ता
धनगढी, २९ जेठ – कैलालीको गोदावरी नगरपालिका–३ स्थित गोदावरी नदीमा आएको बाढीले बगाएका दुई महिलामध्ये एक जनाको शव फेला परेको छ भने अर्की महिला अझै बेपत्ता रहेकी छन्। प्रहरीका अनुसार शुक्रबार बिहान आएको आकस्मिक बाढीले गोदावरी नगरपालिका–४ निवासी ५५ वर्षीया महेश्वरी धमला र ४० वर्षीया कल्पना साउदलाई बगाएको थियो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार महेश्वरी धमलाको शव गोदावरी नदीस्थित आर्यघाट नजिक फेला परेको छ। बाढीमा बेपत्ता भएकी कल्पना साउदको खोजी कार्य जारी रहे पनि हालसम्म उनको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ।
शुक्रबार बिहान करिब ६ः४५ बजे गोदावरीस्थित शिव मन्दिरका पुजारी शक्रानन्द गिरीले नदीमा एक्कासी आएको बाढीले दुई महिलालाई बगाएको सूचना प्रहरीलाई दिएका थिए। सूचनापछि अस्थायी प्रहरी पोस्ट गोदावरी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी टोली तत्काल घटनास्थलतर्फ परिचालन गरिएको थियो।
प्रारम्भिक अनुसन्धानअनुसार दुवै महिला शुक्रबार बिहान करिब ६ बजे जंगलमा च्याउ टिप्न घरबाट निस्किएका थिए। सोही क्रममा खोलामा आएको आकस्मिक बाढीले उनीहरूलाई बगाएको अनुमान गरिएको प्रहरीले जनाएको छ। बेपत्ता महिलाको खोजीका लागि प्रहरी र स्थानीयवासीको सहयोगमा खोज तथा उद्धार कार्य जारी रहेको छ।

