नेपालको पहिलो वर्ड स्याङ्क्चुरी घोडाघोडीमा जलपंक्षी गणना सुरु
घोडाघोडी (कैलाली), १९ पुस – नेपालको पहिलो वर्ड स्याङ्क्चुरीका रूपमा घोषित घोडाघोडी सिमसार क्षेत्रमा आजदेखि जलपंक्षी गणना सुरु गरिएको छ । जैविक विविधताले सम्पन्न यस सिमसार क्षेत्रमा चरा संरक्षण नेटवर्क कैलालीको टोली गणनामा परिचालित भएको छ ।
टोलीका अनुसार आगामी पुस २१ गतेसम्म जलपंक्षी गणना सञ्चालन हुनेछ । चरा संरक्षण नेटवर्क कैलालीले विगत लामो समयदेखि घोडाघोडी ताल क्षेत्रमा चराको अध्ययन, अवलोकन, खोज तथा अनुसन्धान गर्दै आएको छ ।
यहाँ हिउँद र वर्षा गरी प्रत्येक वर्ष दुई पटक जलपंक्षी गणना गरिँदै आएको नेटवर्कका उपाध्यक्ष नवराज न्यौरेले जानकारी दिनुभयो । गणनाबाट जलपंक्षीको अवस्था र उनीहरूले भोगिरहेका चुनौती पहिचान गरिने उहाँको भनाइ छ ।
नेटवर्कका सचिव रामकुमारका अनुसार पछिल्लो समय घोडाघोडी क्षेत्रमा जलपंक्षीको सङ्ख्या घट्दो क्रममा देखिएको छ । घोडाघोडी नगरपालिकाका प्रमुख खडक रावतले चोरी सिकारीका कारण जलपंक्षीको सङ्ख्या घट्दै गएको बताउनुभयो ।
डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख जनक पाध्यायले घोडाघोडी सिमसार प्राकृतिक सम्पत्ति भएकाले यसको संरक्षण सबैको साझा दायित्व भएको उल्लेख गर्नुभयो ।
“घोडाघोडी क्षेत्र जैविक विविधताले भरिएको महत्वपूर्ण क्षेत्र हो । चराको वासस्थान जोगाउँदै दीर्घकालीन संरक्षण कार्यक्रम सञ्चालन गर्न आवश्यक छ,” उहाँले भन्नुभयो ।
घोडाघोडी नगरपालिकाका प्रवक्ता घनश्याम ओझाले चराको संरक्षणका लागि उनीहरूको बासस्थान सुरक्षित गर्नुपर्नेमा जोड दिनुभयो । वर्ड स्याङ्क्चुरीको घोषणा कागजमै सीमित नराखी व्यवहारमा संरक्षण गर्नुपर्ने उहाँको भनाइ थियो ।
नेपालमै सबैभन्दा बढी तालतलैया भएको जिल्लाका रूपमा कैलाली परिचित छ । तिनमध्ये तराई क्षेत्रकै सबैभन्दा ठूलो प्राकृतिक ताल घोडाघोडी ताल हो । घोडाघोडी ताल क्षेत्रमा घोडाघोडीसहित २४ वटा ताल रहेका छन् ।
तीमध्ये घोडाघोडी र नकरोड ताल चराको वासस्थानका लागि सबैभन्दा उपयुक्त मानिने चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरीले जानकारी दिनुभयो ।
अध्यक्ष चौधरीका अनुसार घोडाघोडी क्षेत्रमा पहिला करिब दुई हजार २०० जलपंक्षी रहेकामा गत वर्ष त्यो सङ्ख्या घटेर करिब १,१०० मा सीमित भएको छ । “घोडाघोडीको सूचक प्रजातिका रूपमा रहेको हरिहाँसको सङ्ख्यासमेत घट्दै गएको छ ।
बच्चा कोरल्ने र हुर्काउने सुरक्षित स्थान मानिएको घोडाघोडीमा बासस्थान असुरक्षित हुँदै जानु र आहारा घट्नुले हरिहाँसको सङ्ख्या घटेको हो,” उहाँले बताउनुभयो ।
घोडाघोडी क्षेत्र रैथाने तथा आगन्तुक चराको महत्वपूर्ण वासस्थान भएकाले सुदूरपश्चिम प्रदेश सरकारले २०७८ फागुन २७ गते यस क्षेत्रलाई नेपालकै पहिलो चरा अभयारण्य (वर्ड स्याङ्क्चुरी) घोषणा गरेको थियो । यस क्षेत्रमा हालसम्म ३८१ प्रजातिका चरा पाइने तथ्याङ्क रहेको छ ।

