पश्चिमी न्यूनचापीय रेखाको प्रभाव : देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ, २९ जेठ – नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न भागमा वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहेको छ भने तराई क्षेत्रका अधिकांश स्थानमा आंशिक बदली रहेको छ।

लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ। महाशाखाको पूर्वानुमानअनुसार आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ।

कोशी र मधेस प्रदेशका केही स्थान तथा देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि वर्षा हुने सम्भावना रहेको छ। आज राति पनि कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली कायम रहनेछ भने मधेस प्रदेशलगायत तराई क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

रातिको समयमा कोशी प्रदेश तथा बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। त्यस्तै मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा देशका उच्च हिमाली भूभागका एक–दुई स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

महाशाखाले वर्षा, चट्याङ तथा सम्भावित हिमपातका कारण दैनिक जनजीवन, कृषि कार्य, सडक यातायात तथा हवाई सेवामा आंशिक प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ।

Facebook Comments Box