सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ : रवि लामिछाने
काठमाडौं, २३ जेठ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले नेपाल–भारत सीमा विवाद कूटनीतिक च्यानलमार्फत समाधान गरिनुपर्ने बताएका छन्। भारत भ्रमण सम्पन्न गरी शुक्रबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सीमा समस्या हल्ला वा सार्वजनिक बहसबाट नभई उपयुक्त समय र प्रक्रियाअनुसार कूटनीतिक संवादमार्फत समाधान गर्नुपर्ने बताए।
उनले दुई देशबीचका संवेदनशील विषयहरू औपचारिक कूटनीतिक माध्यमबाट अघि बढाइनुपर्ने उल्लेख गर्दै सीमा विवादलाई सडक वा सदनको बहसभन्दा माथि उठेर समाधान गर्नुपर्ने धारणा राखे। उनका अनुसार यस विषयमा उपयुक्त समयमा संवादमार्फत समाधान खोज्न भारत पनि सकारात्मक रहेको छ।
लामिछानेले काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र शाह (बालेन) को सीमासम्बन्धी अभिव्यक्तिबारे सोधिएको प्रश्नमा परराष्ट्र मन्त्रालयले यसअघि नै आफ्नो धारणा स्पष्ट पारिसकेको र त्यही सरकारको आधिकारिक दृष्टिकोण भएको बताए। भारत भ्रमणका क्रममा आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा भाजपा का अध्यक्षलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको पनि उनले जानकारी दिए।
दुवै नेता नेपाल भ्रमणप्रति सकारात्मक रहेको उल्लेख गर्दै उनले राजनीतिक दलहरूबीच यस्ता भ्रमण र निमन्त्रणाको आदानप्रदान नियमित प्रक्रिया भएको बताए। भारतमा रहेका नेपाली नागरिकहरूले भोगिरहेका समस्याका विषयमा उनले त्यहाँस्थित नेपाली दूतावास तथा सम्बन्धित सरकारी संयन्त्रलाई थप प्रभावकारी र चुस्त बनाउनुपर्ने आवश्यकता औँल्याए। स्वास्थ्योपचार, कागजी प्रक्रिया तथा दैनिक जीवनसँग सम्बन्धित समस्याहरू समाधान गर्न संस्थागत क्षमता अभिवृद्धि आवश्यक रहेको उनको भनाइ थियो।
उनले वर्तमान सरकार हालै गठन भएकाले सबै समस्या तत्काल समाधान गर्न सम्भव नभए पनि प्रवासमा रहेका नेपालीका गुनासाहरू सम्बोधन गर्न संयन्त्रलाई सक्रिय बनाउने प्रयास भइरहेको बताए। उनका अनुसार विदेशमा रहेका नेपालीका समस्या प्रायः समान प्रकृतिका हुने भएकाले सम्बन्धित निकाय प्रभावकारी भए धेरै समस्या समाधान गर्न सकिन्छ।

