तराईमा तापलहरको प्रभाव बढ्दो, केही स्थानमा तापक्रम ४० डिग्रीभन्दा माथि
काठमाडौं, २३ जेठ – नेपालका विभिन्न तराई क्षेत्रमा तापलहरको प्रभाव बढ्न थालेको छ। जल तथा मौसम विज्ञान विभाग का अनुसार अत्यधिक गर्मीका कारण पूर्वदेखि पश्चिमसम्मका तराई जिल्लाहरू प्रभावित हुन थालेका छन्। विभागले सार्वजनिक गरेको विवरणअनुसार शुक्रबार लुम्बिनी प्रदेशको बुटवल–भावनीपुर क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। भैरहवामा पनि तापक्रम ४० डिग्री सेल्सियस मापन गरिएको छ।
अन्य प्रमुख स्थानहरूको अधिकतम तापक्रममध्ये नेपालगन्जमा ४१ डिग्री, जनकपुरमा ३७ डिग्री, वीरेन्द्रनगरमा ३७ डिग्री, दाङमा ३६ डिग्री, धनगढीमा ३६.२ डिग्री, मन्थलीमा ३६.५ डिग्री, सिमरामा ३५ डिग्री, पोखरामा ३४ डिग्री, झापामा ३३.४ डिग्री, विराटनगरमा ३३.३ डिग्री, काठमाडौंमा ३१ डिग्री तथा जुम्लामा २७ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको छ।
विभागका अनुसार मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा जेठ १९ गतेदेखि ३७ डिग्री सेल्सियस वा सोभन्दा बढी तापक्रम मापन भइरहेको छ। विशेषगरी लुम्बिनी प्रदेशका केही स्थानमा तापक्रम ३९ डिग्रीभन्दा माथि पुगेको छ। मौसमविद् सञ्जीव अधिकारी का अनुसार आगामी केही दिन कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा अत्यधिक गर्मी कायम रहने सम्भावना छ। आउँदो साताभर तापक्रम उच्च रहने अनुमान गरिएको छ।
तापलहरको बढी प्रभाव पर्ने जिल्लामा बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही, पूर्वी तथा पश्चिम नवलपरासी, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, कैलाली, कञ्चनपुर, चितवन, सुनसरी, मोरङ र झापा रहेका छन्। स्वास्थ्यकर्मीहरूका अनुसार तापलहरका कारण अत्यधिक थकान, कमजोरी, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने तथा बेहोस हुनेसम्मका समस्या देखिन सक्छन्। अत्यधिक गर्मीले शरीरका मांसपेशी दुख्ने र बान्ता हुने जोखिम पनि बढाउँछ।
विभागले तापलहरबाट बच्न दिउँसोको चर्को घाममा बाहिर ननिस्कन, शीतल स्थानमा बस्न, हल्का र सुतीका कपडा लगाउन, बाहिर जाँदा टाउको छोप्न तथा पर्याप्त मात्रामा पानी र झोलिलो पदार्थ सेवन गर्न आग्रह गरेको छ। स्वास्थ्यमा असहजता देखिए तत्काल स्वास्थ्यकर्मीको परामर्श लिन पनि सुझाव दिइएको छ। मौसमविद्हरूका अनुसार आगामी दिनमा केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहे पनि त्यसले तापक्रममा उल्लेखनीय कमी ल्याउने सम्भावना भने कम रहेको छ।

