परराष्ट्रमन्त्री शिशिर खनाल आज भारत भ्रमणमा जाँदै

काठमाडौं, जेठ २२ — परराष्ट्रमन्त्री शिशिर खनाल भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा आज भारत प्रस्थान गर्ने भएका छन्। नेपाल र भारतबीच नियमित रूपमा हुँदै आएको उच्चस्तरीय भ्रमण आदानप्रदानको क्रमअन्तर्गत हुन लागेको यस भ्रमणले दुई देशबीचको ऐतिहासिक तथा बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

परराष्ट्र मन्त्रालय ले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार भ्रमणका क्रममा मन्त्री खनालले नयाँ दिल्लीमा आफ्ना भारतीय समकक्षी डा. जयशङ्करसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्नेछन्। भेटवार्तामा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षबारे विस्तृत छलफल हुने जनाइएको छ। विशेषगरी व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा सहयोग तथा दुई देशका नागरिकबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा केन्द्रित रहेर वार्ता हुने मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार भ्रमणले नेपाल र भारतबीचको आपसी सहयोग, समझदारी र साझेदारीलाई थप उचाइमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। परराष्ट्रमन्त्री खनालले भ्रमणका सबै औपचारिक कार्यक्रम सम्पन्न गरी जेठ २४ गते काठमाडौं फर्कने कार्यक्रम रहेको छ।

Facebook Comments Box