निर्माणाधीन ग्याबिन वाल भासिँदा स्थानीय बस्ती जोखिममा
खोटाङ, २० जेठ – खोटाङमा मध्यपहाडी लोकमार्गअन्तर्गत निर्माणाधीन ग्याबिन वाल पूरा नहुँदै भासिएको छ। दिक्तेल–खचेवा सडक खण्डअन्तर्गत माम्खा मा निर्माण भइरहेको ग्याबिन वाल जेठ १५ गतेदेखि भासिन थालेको हो। ‘हाइवे इम्प्रोभमेन्ट वर्क्स’ कार्यक्रमअन्तर्गत सडक डिभिजन हर्कपुरमार्फत निर्माण गरिएको उक्त पर्खालको काम अन्तिम चरणमा पुगेको अवस्थामा बीच भाग भासिएको जनाइएको छ।
निर्माण कम्पनी दोभान निर्माण सेवा धनकुटाले तारजाली भरेर सडकसम्म अग्लो पर्खाल निर्माण गरिसकेको थियो। तर माथिल्लो भागमा फिलिङ गरी सम्याउने काम सम्पन्न हुनुअघि नै संरचनामा क्षति पुगेको हो। यसअघि पनि मध्यपहाडी लोकमार्ग कालोपत्रे गर्ने क्रममा सोही स्थानमा निर्माण गरिएको आरसीसी वाल भासिएको थियो। आरसीसी वाल ढल्किएपछि सडकलाई साँघुरो अवस्थामै सञ्चालन गरिएको थियो। सडक चौडा गर्ने उद्देश्यले नयाँ ग्याबिन वाल निर्माण गरिएको भए पनि पुनः समस्या देखिएको हो।
ग्याबिन वाल भासिएपछि सडक डिभिजन हर्कपुरका सिनियर डिभिजन इन्जिनियर सविन जोशी नेतृत्वको टोलीले स्थल निरीक्षण गरेको छ। प्रारम्भिक अध्ययनअनुसार कमजोर भू–बनोटका कारण पर्खाल भासिएको हुन सक्ने अनुमान गरिएको छ। इन्जिनियर जोशीले निर्माण प्रक्रियामा स्पष्ट त्रुटि नदेखिएको बताउँदै थप प्राविधिक परामर्श लिइने जानकारी दिए।
पर्खाल भासिएसँगै त्यस मुनि रहेका स्थानीयवासी भीमराज राई, देबेन्द्र राई, हर्कमान राई, लोकेन्द्र राई, हेमराज राई तथा नरबहादुर राईका घर जोखिममा परेका छन्। साथै, पर्खालमुनिको मकैबारीसमेत चर्किएको स्थानीयले बताएका छन्। स्थानीयवासीका अनुसार बलियो जग तयार नगरी पर्खाल निर्माण गरिनु तथा कमजोर भू–संरचनाका कारण समस्या उत्पन्न भएको हुन सक्छ। दीर्घकालीन समाधानका लागि भित्तातर्फको चट्टान काटेर सडक विस्तार गर्नुपर्ने उनीहरूको सुझाव छ।
दिक्तेल–चखेवा सडक खण्डका विभिन्न स्थानमा ग्याबिन वाल, प्लम वाललगायत संरचना निर्माणका लागि दुई करोड ७९ लाख ७७ हजार ९१२ रुपैयाँको ठेक्का सम्झौता गरिएको थियो। दोभान निर्माण सेवाले गत मंसिर ४ गते सम्झौता गरी वैशाख ६ गतेभित्र काम सम्पन्न गर्ने लक्ष्य राखेको थियो। निर्धारित समयमा काम नसकिएपछि ठेक्काको म्याद आगामी असार १५ गतेसम्म थप गरिएको सडक डिभिजन हर्कपुरले जनाएको छ।

