पर्वतमा जिप दुर्घटना, वडासदस्यको मृत्यु

काठमाडौं, १९ जेठ – पर्वतमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा गएराति ग.१ ज ५८६५ नम्बरको जिप दुर्घटनामा परेको हो। दुर्घटनामा कुश्मा नगरपालिका–१४ का वडासदस्य ५२ वर्षीय केशवराज पौडेल गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि पोखरा लगिएकोमा अस्पताल पुग्नासाथ चिकित्सकले मृत घोषणा गरेका थिए।

जिप चालक स्थानीय २७ वर्षीय बुद्धिसागर पौडेल र ४६ वर्षीय राजेन्द्र पौडेल दुर्घटनामा घाइते भएका छन्। उनीहरूको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अँधेरीनेटा क्षेत्रको सडकबाट जिप करिब ५०० मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Facebook Comments Box