गुजरातलाई हराउँदै आरसीबी लगातार दोस्रोपटक आईपीएल फाइनलमा
काठमाडौं, १३ जेठ – रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले गुजरात टाइटन्सलाई ९२ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा स्थान बनाएको छ । मंगलबार राति भएको पहिलो क्वालिफायरमा शानदार जित निकाल्दै साविक विजेता आरसीबी लगातार दोस्रोपटक आईपीएलको फाइनलमा पुगेको हो ।
पराजित गुजरातले भने फाइनल पुग्ने अर्को अवसर पाउनेछ । अब गुजरातले दोस्रो क्वालिफायरमा एलिमिनेटर विजेतासँग खेल्नेछ । एलिमिनेटर खेलमा आज राजस्थान रोयल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुनेछ । आरसीबीले दिएको २५५ रनको विशाल लक्ष्य पछ्याएको गुजरात १९.३ ओभरमा १६२ रनमै अलआउट भयो ।
गुजरातका लागि राहुल तेवाटियाले सर्वाधिक ६८ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । उनले ४३ बलमा ८ चौका र ४ छक्का प्रहार गरे । जस बटलरले २९ रन तथा ओपनर साइ सुदर्शनले १४ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकसमेत छुन सकेनन् । गुजरातलाई कम स्कोरमा समेट्न आरसीबीका जाकोब डफीले ३ विकेट लिए । भुवनेश्वर कुमार, रनसिक सलाम र क्रुनाल पाण्ड्याले समान २–२ विकेट लिए भने जस हेजलवुडले १ विकेट हात पारे ।
यसअघि धर्मशालास्थित हिमाञ्चल प्रदेश क्रिकेट एसोसियसन स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २५४ रन बनाएको थियो । आरसीबीका कप्तान रजत पाटिदार ३३ बलमा ५ चौका र ९ छक्का प्रहार गर्दै ९३ रनमा अविजित रहे । विराट कोहली र क्रुनाल पाण्ड्याले समान ४३ रन बनाए भने देवदत्त पाडीक्कलले ३० रनको योगदान दिए । गुजरातका कागिसो रवाडा र जेसन होल्डरले समान २ विकेट लिए भने प्रसिद्ध कृष्णले १ विकेट लिए ।

