पहिरोका कारण बेनी–जोमसोम–कोरला सडक अवरुद्ध

म्याग्दी,  १३ जेठ – मुस्ताङ हुँदै चीनको सीमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दी खण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ माथिल्लो बैसरी (सिरुवारी) क्षेत्रमा पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सम्पर्क विच्छेद भएको हो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार सडक विभाग तथा बेनी–जोमसोम–कोरला सडक योजनासँग समन्वय गरेर अवरुद्ध सडक खुलाउन उपकरण परिचालन गरिएको छ । सडक अवरुद्ध भएपछि बेनीदेखि मुस्ताङतर्फ र जोमसोमदेखि बेनीतर्फ आवतजावत गर्ने सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।

यसबाट स्थानीयवासीसँगै मुस्ताङ भ्रमण तथा मुक्तिनाथ मन्दिर दर्शनका लागि जाने पर्यटक तथा तीर्थयात्री प्रभावित भएका छन् । सिरुवारी क्षेत्रमा वर्षा हुनासाथ पहिरो खस्ने समस्या दोहोरिने गरेको स्थानीयले बताएका छन् । उक्त पहिरो बेनी–जोमसोम सडकमा नियमित र सहज यातायात सञ्चालनका लागि मुख्य चुनौती बन्दै गएको छ ।

Facebook Comments Box