अमेरिकाको आक्रमणलाई इरानले युद्धविराम उल्लंघन भन्यो

काठमाडौं,  १३ जेठ – इरानले आफ्नो दक्षिणी क्षेत्रमा अमेरिकाले गरेको पछिल्लो आक्रमणलाई युद्धविरामको ‘घोर उल्लंघन’ भएको जनाएको छ । बीबीसी फारसी सेवाका अनुसार इरानले अमेरिकी सेनाले पटक–पटक युद्धविराम उल्लंघन गरेको आरोप लगाएको हो । इरानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अप्रिल ९ मा युद्धविराम घोषणा भएयता अमेरिकी सेनाले होर्मोज्गान क्षेत्रमा धेरैपटक उल्लंघन गरेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा इरानले “कुनै पनि दुष्टतालाई त्यसै नछाड्ने” चेतावनीसमेत दिएको छ । यसअघि इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले पनि अमेरिकी सेनाले गरेका युद्धविराम उल्लंघनको बदला लिने अधिकारलाई “वैधानिक र निर्णायक” मानिने जनाएको थियो ।इरानी सञ्चारमाध्यमका अनुसार सोमबार बन्दर अब्बास र त्यहाँको विमानस्थल आसपास क्षेत्रमा विस्फोटको आवाज सुनिएको थियो । उता अमेरिकी सेनाले पनि सोमबार दक्षिणी इरानमा नयाँ आक्रमण गरिएको पुष्टि गरेको जनाएको छ ।

Facebook Comments Box