आज पनि वर्षाको सम्भावना, पश्चिम तराईमा तातो लहरको जोखिम

काठमाडौं, १० जेठ – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग ले जनाएको छ । यसकै प्रभावका कारण शनिबार देशका विभिन्न क्षेत्रमा वर्षा भएको थियो । विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ । मधेस प्रदेशसहित अन्य प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा तथा मधेस, बागमती र गण्डकीका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । यस्तै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेश का हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।

विभागका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा तातो दिन तथा तराई क्षेत्रमा तातो लहर चल्न सक्ने सम्भावना छ । त्यसैगरी मधेस र कोशी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

Facebook Comments Box