ह्वाइट हाउस बाहिर गोलीबारी, संदिग्ध बन्दुकधारी सिक्रेट सर्विसको कारबाहीमा मारिए
काठमाडौं, १० जेठ – अमेरिकाको राष्ट्रपति निवास ह्वाइट हाउस बाहिर गोलीबारी भएको छ । घटनामा एक संदिग्ध बन्दुकधारी अमेरिकी सिक्रेट सर्विस को जवाफी कारबाहीमा मारिएका छन् । स्थानीय समयअनुसार शनिबार साँझ करिब ६ बजे ह्वाइट हाउस नजिकको १७ औँ स्ट्रिट र पेन्सिलभेनिया एभिन्यु क्षेत्रमा गोलीबारी भएको हो ।
सिक्रेट सर्विसले जारी गरेको विज्ञप्तिअनुसार संदिग्ध व्यक्तिले अचानक झोलाबाट हतियार निकालेर जथाभावी गोली चलाउन थालेपछि ड्युटीमा रहेका एजेन्टहरूले जवाफी कारबाही गरेका थिए । गोली लागेर गम्भीर घाइते भएका ती व्यक्तिलाई तत्काल अस्पताल लगिएको थियो । उपचारका क्रममा चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए ।
घटनापछि ह्वाइट हाउस परिसरलाई तत्काल लकडाउन गरिएको थियो । त्यहाँ रहेका पत्रकारहरूलाई सुरक्षाकर्मीहरूले सुरक्षित रूपमा प्रेस ब्रिफिङ कक्षमा सारेका थिए । करिब एक घण्टापछि मात्रै लकडाउन हटाइएको जनाइएको छ । सिक्रेट सर्विसका अनुसार घटनाको समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमै रहेका थिए । तर घटनाबाट राष्ट्रपति वा अन्य विशिष्ट व्यक्तिको सुरक्षामा कुनै असर नपरेको बताइएको छ ।
सीबीएस न्यूजका अनुसार बन्दुकधारीले एक्लै सुरक्षा एजेन्टहरूलाई लक्षित गरी आक्रमणको प्रयास गरेका थिए । प्रत्यक्षदर्शीहरूका अनुसार घटनास्थलमा १५ देखि ३० राउन्डसम्म गोली चलेको आवाज सुनिएको थियो । घटनापछि ह्वाइट हाउस वरपर सुरक्षा व्यवस्था थप कडा बनाइएको छ । सिक्रेट सर्विस र स्थानीय प्रहरीले घटनाको उद्देश्य तथा बन्दुकधारीको पहिचानबारे अनुसन्धान जारी रहेको बताएका छन् ।

