रास्वपा बारा सभापति स्वर्णकारको सदस्यता खारेज

काठमाडौं, ८  जेठ – राष्ट्रिय स्वतन्त्र पार्टी का बारा जिल्ला सभापति चन्दन स्वर्णकार को पार्टी सदस्यता खारेज गरिएको छ । पार्टीको केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठ ले स्वर्णकारलाई पत्र पठाउँदै साधारण सदस्यता खारेज गरिएको जानकारी दिएका हुन् । रास्वपाका अनुसार अनुशासन आयोगमा बाराबाट निर्वाचित चार जना सांसदले स्वर्णकारविरुद्ध उजुरी दिएका थिए ।

उनीमाथि आर्थिक अनियमितता, पार्टी संगठन प्रभावकारी रूपमा परिचालन नगरेको तथा विपक्षी दलका उम्मेदवारको पक्षमा लागेको आरोप लगाइएको थियो । पार्टी स्रोतका अनुसार बारा जिल्ला समिति विघटन गरेर नयाँ समिति गठन प्रक्रिया अघि बढाइएको छ । त्यसका लागि केन्द्रबाट प्रतिनिधिसमेत खटाइसकिएको जनाइएको छ । उता कारबाहीमा परेका स्वर्णकारले भने आफूविरुद्ध ‘राजनीतिक हत्या’ गरिएको आरोप लगाएका छन् ।

 कारबाहीसम्बन्धी पत्र सार्वजनिक गर्दै उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “मेरो राजनीतिक हत्या भयो, अब फैसला महागढीमाई र बाराका जनताको हातमा छ ।” उनले निष्पक्ष छानबिन नगरी तथ्य र प्रमाणलाई बेवास्ता गर्दै जेठ ९ गते हुने विस्तारित बैठक तथा अधिवेशनअघि आफूलाई पार्टीबाट निष्कासन गरिएको दाबी गरेका छन् । अधिवेशनमार्फत आफू पुनः जिल्ला सभापति चुनिने सम्भावनाका कारण सांसदहरूको दबाबमा कारबाही गरिएको उनको आरोप छ ।

Facebook Comments Box