काठमाडौंसहित मध्य र पूर्वी क्षेत्रमा वर्षा, पश्चिम तराईमा अत्यधिक गर्मी
काठमाडौं, ८ जेठ – काठमाडौं उपत्यकासहित देशका मध्य तथा पूर्वी भेगका विभिन्न क्षेत्रमा गएरातिदेखि वर्षा भइरहेको छ । मौसमविदका अनुसार पानी पर्ने र रोकिने क्रम आज दिनभर जारी रहने सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाका मौसमविद सञ्जिव अधिकारी का अनुसार कोशीदेखि गण्डकी प्रदेशसम्म हिजोदेखि नै वर्षा भइरहेको छ ।
उनका अनुसार पूर्वी भूभागमा भारत नजिक विकसित न्यूनचापीय क्षेत्रको प्रभावका कारण वर्षा भइरहेको हो भने काठमाडौं उपत्यका र आसपासमा स्थानीय वायु सक्रिय हुँदा पानी परेको हो । मौसमविद अधिकारीले काठमाडौं, नुवाकोट र सिन्धुपाल्चोक आसपास स्थानीय प्रणालीका कारण विकसित वर्षाजन्य बादल पूर्वतर्फ सरिरहेको जानकारी दिए । गत २४ घण्टामा गोब्रे केन्द्रमा सबैभन्दा धेरै ८१ मिलिमिटर वर्षा मापन गरिएको छ ।
महाशाखाका अनुसार अहिले विकसित बादल पूर्वतर्फ सर्दै गएकाले केही घण्टाभित्र काठमाडौं उपत्यकामा वर्षा रोकिन सक्छ । यद्यपि अपराह्नपछि पुनः पानी पर्ने सम्भावना रहेको मौसमविद अधिकारीले बताएका छन् । आज कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
पश्चिम तराईमा गर्मी बढ्दो
पूर्वी तथा मध्य क्षेत्रमा वर्षासँगै मौसम शीतल बने पनि पश्चिम तराईमा अत्यधिक गर्मी बढेको छ । विशेषगरी दिपायल, धनगढी, नेपालगञ्ज र भैरहवा को तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।अत्यधिक गर्मीका कारण पश्चिम तराईका जिल्लाहरूमा जनजीवन प्रभावित भएको छ । महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आगामी केही दिन तातो हावाको लहर चल्ने सम्भावना रहेको जनाएको छ । मौसमविदहरूले अत्यधिक गर्मीबाट जोगिन आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् ।

