उपत्यकामा ट्राफिक कारबाहीबाट चार लाखभन्दा बढी राजस्व सङ्कलन
काठमाडौं, ३ जेठ – बितेका २४ घण्टामा काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार २९ सवारी चालकलाई कारबाही गर्दा चार लाख १७ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ५९ जना चालक कारबाहीमा परेका छन् । त्यसैगरी नियमविपरीत यात्रु साझेदारी सेवा सञ्चालन गर्ने ११९ जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १३२ जना तथा तीव्र गतिमा सवारी चलाउने २०८ जनालाई पनि कारबाही गरिएको छ ।
ट्राफिक प्रहरीले लेन अनुशासन पालना नगर्ने ५७ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ९४ जना, सडक पेटीमा सवारी पार्किङ गर्ने ९५ जना तथा एकतर्फी सडकमा सवारी चलाउने १२६ जनामाथि पनि कारबाही गरेको जनाएको छ । यसका अतिरिक्त अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार १३९ जना चालकलाई समेत कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

