कुशलको शतकमा अमेरिकामाथि नेपालको सानदार जित
काठमाडौं, ३ जेठ – ओपनर कुशल भुर्तेलको शतकीय इनिङ्स र दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट बलिङको मद्दतमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् विश्वकप लिग–२ त्रिकोणात्मक शृंखलामा अमेरिकामाथि सानदार जित दर्ता गरेको छ । शनिबार भएको शृंखलाको दोस्रो खेलमा नेपालले अमेरिकालाई नौ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात पारेको हो ।
यसअघि पहिलो खेलमा नेपाल स्कटल्यान्डसँग डकवर्थ–लुइस–स्टर्न पद्धतिअनुसार दुई रनले पराजित भएको थियो । अमेरिकाको भने जारी शृंखलामा यो लगातार दोस्रो हार हो । अमेरिका पनि पहिलो खेलमा स्कटल्यान्डसँग दुई रनले नै पराजित भएको थियो । अब नेपालले सोमबार स्कटल्यान्डसँग तेस्रो खेल खेल्नेछ भने अन्तिम खेलमा शुक्रबार पुनः अमेरिकासँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले ३६ दशमलव ४ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले पहिलो विकेटका लागि १४५ रनको साझेदारी गरेका थिए । यो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको दोस्रो ठूलो पहिलो विकेट साझेदारी हो ।
कुशल भुर्तेलले अविजित १२० रनको उत्कृष्ट इनिङ्स खेले । उनले ११८ बलमा १३ चौका र ६ छक्का प्रहार गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यो उनको व्यक्तिगत उच्च स्कोर हो । यसअघि उनले नामिबियाविरुद्ध ११५ रन बनाएका थिए । कुशलले १०४ बलमा १२ चौका र ३ छक्काको मद्दतमा शतक पूरा गरेका थिए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको यो दोस्रो शतक हो ।
अर्का ओपनर आशिफ शेखले ७२ बलमा ७ चौकासहित ५८ रन बनाए । उनी मोहम्मद मोहसिनको बलमा हरमित सिंहबाट क्याच आउट भए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका इशान पाण्डे २० रनमा अविजित रहे । उनले ३० बलमा एक चौका प्रहार गरे । यसअघि टस जितेर ब्याटिङ गरेको अमेरिका ४३ दशमलव ३ ओभरमा १९५ रनमा अलआउट भएको थियो ।
अमेरिकाका लागि स्मित पटेलले सर्वाधिक ८३ रन बनाए । उनले ८९ बलमा ८ चौका र ३ छक्का प्रहार गरे । दोस्रो विकेटका लागि स्मित पटेल र सेहान जयसूर्याले १०० रनको साझेदारी गरेका थिए । सेहान जयसूर्या ५२ बलमा ५ चौका र एक छक्कासहित अर्धशतक बनाएर आउट भए ।
उनी दीपेन्द्रसिंह ऐरीको बलमा गुल्शन झाबाट क्याच आउट भएका थिए । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले चार विकेट लिए । उनले ७ दशमलव ३ ओभरमा २४ रन मात्र खर्चिए । सोमपाल कामीले दुई विकेट लिए भने सन्दीप लामिछाने र गुल्शन झाले समान एक विकेट लिए ।

