विश्वकपमा दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र २–१ ले पराजित
काठमाडौं, २९ जेठ – दोस्रो हाफमा दुई गोल फर्काउँदै दक्षिण कोरियाले चेक गणतन्त्रमाथि २–१ को रोमाञ्चक जित निकाल्दै फिफा विश्वकप २०२६ मा सुखद सुरुआत गरेको छ। मेक्सिकोको ग्वाडालाजारा रंगशालामा सम्पन्न समूह ‘ए’ अन्तर्गतको खेलमा सुरुआती अग्रता लिए पनि चेक गणतन्त्रले त्यसलाई जोगाउन नसक्दा पराजय बेहोर्नुपरेको हो।
विश्वकपमा चेक गणतन्त्रविरुद्ध दक्षिण कोरियाको यो पहिलो जित हो। १२औँ पटक विश्वकप खेलिरहेको दक्षिण कोरियाले प्रतियोगिताको पहिलो खेलमा जित हात पारेको यो चौथो अवसर हो। खेलको ५९औँ मिनेटमा लादिस्लाभ क्रेज्कीले गोल गर्दै चेक गणतन्त्रलाई अग्रता दिलाएका थिए। तर, दक्षिण कोरियाले त्यसको आठ मिनेटपछि नै खेलमा पुनरागमन गर्यो। ६७औँ मिनेटमा ह्वाङ इन–बियोमले गोल गर्दै दक्षिण कोरियालाई १–१ को बराबरीमा ल्याए।
खेलको ७७औँ मिनेटमा चेक गणतन्त्रले पुनः अग्रता लिएको जस्तो देखिए पनि थोमस सुसेकको गोल अफसाइडका कारण मान्य भएन। फ्रिकिकबाट आएको बललाई उनले हेडमार्फत जाली चुमाए पनि रेफ्रीले गोललाई अस्वीकार गरेका थिए।त्यसपछि ८०औँ मिनेटमा ओह ह्योङ–युले निर्णायक गोल गर्दै दक्षिण कोरियालाई २–१ को अग्रता दिलाए। बाँकी समयमा दुवै टोलीले थप गोल गर्न नसकेपछि दक्षिण कोरिया विजयी बन्यो।
जितसँगै दक्षिण कोरियाले तीन अंक जोड्दै समूह ‘ए’ को दोस्रो स्थानमा उक्लिएको छ। समान तीन अंक भए पनि गोलअन्तरका आधारमा मेक्सिको शीर्ष स्थानमा रहेको छ। अंकविहीन चेक गणतन्त्र तेस्रो स्थानमा छ भने दक्षिण अफ्रिका समूहको पुछारमा रहेको छ।

