आयोडिनरहित नुनको बिक्री बढ्दा स्वास्थ्य जोखिम बढ्ने चिन्ता
काठमाडौं, ३ जेठ – सरकारले नुन आयात तथा बिक्रीमा निजी क्षेत्रलाई प्रवेश गराएपछि बजारमा मापदण्डअनुसार आयोडिन नभएको नुनको बिक्री बढ्दै गएको छ । विज्ञहरूले यसले आगामी वर्षहरूमा आयोडिनको कमीबाट हुने स्वास्थ्य समस्या पुनः बढ्न सक्ने चेतावनी दिएका छन् ।
नेपालमा सन् १९६५ अघिसम्म आयोडिनको कमीका कारण दुई जनामध्ये एक जनामा विभिन्न स्वास्थ्य समस्या देखिने गरेको थियो । पाँच वर्ष लगाएर गरिएको सरकारी अनुसन्धानले ५५ प्रतिशत जनसङ्ख्यामा गलगाँड रोग देखिएको पुष्टि गरेपछि सरकारले सन् १९७३ देखि अनिवार्य रूपमा आयोडिनयुक्त नुन आयात गर्ने व्यवस्था लागू गरेको थियो ।
त्यसपछि साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत मात्र आयोडिनयुक्त नुन आयात तथा वितरण गरिँदै आएको थियो । आयोडिनयुक्त नुनको प्रयोग विस्तार भएसँगै गलगाँड, सुस्त मानसिक विकास, गर्भवती महिलामा गर्भपतन, बालबालिकामा बौद्धिक तथा शारीरिक विकासमा समस्या जस्ता रोग क्रमशः घट्दै गएको थियो ।
तर पछिल्लो समय बजारमा आयोडिनको मात्रा नभएको नुन खुला रूपमा बिक्री हुन थालेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले केही समयअघि गरेको परीक्षणमा ‘हिमालयन पिङ्क रक साल्ट’ नामक नुनमा आयोडिनको मात्रा फेला नपरेको जनाएको थियो । उक्त नमुना ‘सेन्चुरी’ ब्रान्डअन्तर्गतको रहेको उल्लेख गरिएको छ ।
प्रयोगशालाले २०८३ वैशाख ४ गते परीक्षण गरेको नमुनामा आयोडिनको मात्रा शून्य भेटिएको विभागले जनाएको छ । सरकारले २०८२ साउन १ गतेदेखि निजी क्षेत्रलाई आयोडिनयुक्त नुन उत्पादन तथा बिक्रीवितरण गर्न अनुमति दिएको थियो ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत परिवार कल्याण महाशाखा, पोषण शाखाका प्रमुख लीलाविक्रम थापाले बजारमा आयोडिन नभएको नुन खुलेआम बिक्री भइरहेको जानकारी प्राप्त भए पनि त्यसलाई नियन्त्रण गर्ने अधिकार आफ्नो निकायअन्तर्गत नरहेको बताउनुभयो ।
उहाँका अनुसार अहिले यस्ता नुन सामान्य पसलदेखि ठूला सुपरमार्केटसम्म बिक्री भइरहेका छन् । “आयोडिन नभएको नुनको प्रयोग रोकिएन भने यसको असर सातदेखि १० वर्षभित्र देखिन थाल्छ,” थापाले भन्नुभयो, “भविष्यमा गलगाँड, सुस्त मानसिक अवस्था र गर्भसम्बन्धी समस्या फेरि बढ्न सक्छन् ।”
नेपाल सरकारले नेपाल राजपत्रमार्फत आयोडिनयुक्त र साधारण नुनको गुणस्तरसम्बन्धी मापदण्ड तय गरेको छ । मापदण्डअनुसार आयोडिनयुक्त नुनमा उत्पादनका बेला ५० पिपिएम, बिक्रीका क्रममा ३० पिपिएम तथा उपभोक्ताले प्रयोग गर्दा कम्तीमा १५ पिपिएम आयोडिन हुनुपर्ने व्यवस्था छ ।
त्यसैगरी नुनमा जलांश अधिकतम ६ प्रतिशत, सोडियम क्लोराइड न्यूनतम ९६ प्रतिशत तथा पानीमा नघुल्ने पदार्थ अधिकतम १ प्रतिशत हुनुपर्ने उल्लेख गरिएको छ । विज्ञहरूका अनुसार सोडियम क्लोराइडको मात्रा कम भए रक्तचापलगायत स्वास्थ्य समस्या देखिन सक्छ ।
उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष अधिवक्ता ज्योति बानियाले आयोडिनरहित नुन बिक्री हुनु गम्भीर लापर्बाही भएको भन्दै दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ ।

