संघीय निजामती विधेयकमा ट्रेड युनियन अधिकार कटौती नगर्न सरकारसँग आग्रह
काठमाडौं, वैशाख १४ — निजामती क्षेत्रमा सक्रिय विभिन्न ट्रेड युनियनहरूले प्रस्तावित संघीय निजामती विधेयकमा ट्रेड युनियन अधिकार कटौती नगर्न सरकारसँग आग्रह गरेका छन्। संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन लगायतका संगठनहरूले संविधान र अन्तर्राष्ट्रिय श्रम मान्यताअनुसार पूर्ण ट्रेड युनियन अधिकार सुनिश्चित गर्न माग गरेका हुन्।
उनीहरूले सार्वजनिक सेवामा कार्यरत कर्मचारीहरूको हकहित संरक्षण, सहभागिता र सामूहिक सौदाबाजीको अधिकारलाई कानुनी रूपमा अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैशाख ११ गते सार्वजनिक गरेको संघीय निजामती सेवा सम्बन्धी विधेयकको मस्यौदालाई उनीहरूले सकारात्मक कदम भने पनि त्यसमा ट्रेड युनियन अधिकार कटौती गर्ने प्रयासप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
विज्ञप्तिमा नेपालको संविधानले प्रत्येक नागरिकलाई संघ–संस्था खोल्ने स्वतन्त्रता तथा श्रमिकलाई उचित श्रम अभ्यासको हक सुनिश्चित गरेको उल्लेख गर्दै, कर्मचारीलाई आफूले रोजेको संगठनमा आबद्ध हुने र सामूहिक सौदाबाजी गर्ने अधिकार कुनै पनि हालतमा सीमित गर्न नहुने बताएका छन्।
त्यसैगरी अन्तर्राष्ट्रिय श्रम संगठन का अभिसन्धिहरूले पनि सार्वजनिक सेवामा कार्यरत कर्मचारीलाई ट्रेड युनियन अधिकारलाई मौलिक श्रम अधिकारका रूपमा मान्यता दिएको स्मरण गराइएको छ। युनियनहरूले सरकारलाई विधेयक परिमार्जन गरी कर्मचारीमैत्री र अधिकार सुनिश्चित गर्ने व्यवस्था समावेश गर्न आग्रह गरेका छन्।

