सिक्टा नहर वन्यजन्तुमैत्री नहुँदा वन्यजन्तुको अकाल मृत्यु बढ्दै
बाँके, वैशाख १४ — निर्माणाधीन सिक्टा सिँचाइ आयोजना को पश्चिमी मूल नहर वन्यजन्तुमैत्री नहुँदा वन्यजन्तुको अकाल मृत्यु बढ्दै गएको छ। पानी पिउन नहरमा पुग्ने चित्तल, मृग, नीलगाई, बँदेललगायतका वन्यजन्तु नहरमै फसेर मर्ने गरेका छन्। नहरको ठूलो भाग बाँके राष्ट्रिय निकुञ्ज, सामुदायिक वन र राष्ट्रिय वन क्षेत्र हुँदै जाने भएकाले जोखिम अझ बढेको हो।
डिभिजन वन कार्यालयका अनुसार गर्मीयाम सुरु भएसँगै दैनिकजसो वन्यजन्तु नहरमा फस्ने घटना देखिएको छ। पछिल्लोपटक हरलाफाँटा सामुदायिक वन क्षेत्रमा एकैदिन चार वटा चित्तल फसेका थिए, जसलाई स्थानीय र वनकर्मीको सहयोगमा उद्धार गरिएको थियो।
यस्तै, राप्तीसोनारी क्षेत्रमा नहरमा फसेको मृग मारेको आरोपमा तीन जना पक्राउसमेत परेका छन्, जसले नहरसँग जोडिएको चोरी सिकारीको जोखिम पनि देखाएको छ। वन अधिकारीहरूका अनुसार वन क्षेत्रमा डढेलो बढ्दा वन्यजन्तु पानीको खोजीमा नहरतर्फ आउँछन् र फस्ने घटनामा वृद्धि हुन्छ। नहरको संरचना ठाडो र चिप्लो भएकाले एकपटक खसेपछि बाहिर निस्कन कठिन हुन्छ।
वन क्षेत्रमा बनाइएका पोखरीहरू पर्याप्त नहुँदा पनि समस्या बढेको छ। केही स्थानमा बनाइएका पानी खाने ‘घाट’ प्रभावकारी नभएको स्थानीयको गुनासो छ। स्थानीय सरोकारवालाहरूले दीर्घकालीन समाधानका रूपमा नहरलाई वन्यजन्तुमैत्री बनाउन गुणस्तरीय घाट निर्माण, नहरको दुवैतर्फ तारजाली लगाउने तथा वनभित्र पानीका स्रोत बढाउनुपर्ने सुझाव दिएका छन्।

