आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं, १३ वैशाख – हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशभर मौसममा आंशिक परिवर्तन देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित अधिकांश हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहेको छ । सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहेको जनाइएको छ ।

आज दिउँसो पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ । अन्य भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ । त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा भने तातो दिन रहने सम्भावना छ । आज राति देशका हिमाली र पहाडी क्षेत्रमा साधारण बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

मौसममा आउने परिवर्तनका कारण विशेषगरी हिमाली तथा पहाडी क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण तथा यातायात सञ्चालनकर्तालाई सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

Facebook Comments Box