मनोहरा सुकुमवासी बस्तीमा डोजर चलाउँदा झडप, प्रहरी घाइते

काठमाडौं, १२ वैशाख – काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित मनोहरा सुकुमवासी बस्तीमा डोजर चलाउने क्रममा स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको छ । सरकारले नदी किनारका अवैध बस्ती हटाउने अभियान अन्तर्गत शनिबार साँझ बस्तीमा डोजर लगाएको थियो । अँध्यारोमा घर भत्काउन थालेपछि आक्रोशित स्थानीयले ढुंगामुढा प्रहार गरेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ढुंगा प्रहारबाट थिमि प्रहरी वृत्तका डीएसपी नवराज ढुंगानासहित केही प्रहरी घाइते भएका छन् । स्थानीयको अवरोधका कारण बस्ती हटाउने कार्य अस्थायी रूपमा रोकिएको छ । प्रहरीका अनुसार आइतबार बिहानदेखि पुनः डोजर सञ्चालन गर्ने तयारी गरिएको छ ।

मनोहरा बस्तीमा रहेका केही पक्की घरसमेत डोजरले भत्काउन थालेपछि स्थानीय बासिन्दा थप आक्रोशित बनेका हुन् । यसअघि थापाथली, गैरीगाउँ र शान्तिनगर क्षेत्रमा पनि डोजर चलाइएको थियो । ती स्थानका अधिकांश बासिन्दा घर खाली गरी अन्यत्र सरेका छन् ।

सरकारले काठमाडौँका नदी किनारका पाँच बस्ती खाली गराउने योजना बनाएको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणका अनुसार शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरामा १३ गरी कुल ८७१ घरधुरी रहेका छन् ।

Facebook Comments Box