सीता जयन्तीमा राष्ट्रपतिको शुभकामना, सामाजिक सद्भाव र एकतामा जोड
काठमाडौँ, १२ वैशाख – राष्ट्रपति रामचन्द्र पौडेलले सीता जयन्तीका अवसरमा सम्पूर्ण नेपालीबीच एकता सुदृढ गर्दै सामाजिक सद्भाव र सुसंस्कृत समाज निर्माणका लागि प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् । राष्ट्रपति पौडेलले राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै माता सीता मिथिला भूमि नेपालकी सुपुत्री हुनु सम्पूर्ण नेपालीका लागि गौरवको विषय भएको उल्लेख गरेका छन् ।
हरेक वर्ष वैशाख शुक्ल नवमीका दिन विशेष पूजा–अर्चनासहित सीता उत्पत्ति दिवस अर्थात् सीता जयन्ती मनाइने गरिन्छ । वाल्मीकि रामायणलगायतका पुराण अनुसार त्रेता युगमा मिथिलाका राजा जनकले यज्ञका क्रममा खेत जोत्दा माता सीताको उत्पत्ति भएको वर्णन पाइन्छ ।
सीता जयन्तीका अवसरमा देशभरका राम–जानकी मन्दिर तथा विशेषगरी जानकी मन्दिरमा विशेष पूजा–अर्चना गरिन्छ । माता सीतालाई पतिव्रता, धैर्य, सहनशीलता र उदारताको प्रतीकका रूपमा मानिन्छ । मिथिला सभ्यतादेखि नै समाजमा महिलाको उच्च स्थान स्थापित गर्न मार्गदर्शन गर्ने आदर्श नारीका रूपमा सीताको श्रद्धापूर्वक स्मरण गर्ने परम्परा रहेको छ ।

