पश्चिमी वायुको प्रभाव: देशका विभिन्न स्थानमा वर्षा र चट्याङको सम्भावना

काठमाडौँ, १२ वैशाख  – मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा बदली भई केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना रहेको छ । हाल गण्डकी प्रदेश, कर्णाली प्रदेशसुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागमा सामान्य बदली रहेको छ भने अन्य हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली देखिएको छ ।

तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहेको छ । ती प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा हिमपातसमेत भइरहेको छ । महाशाखाका अनुसार शनिबार दिउँसो देशका हिमाली तथा पहाडी भागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ ।

कोशी प्रदेश, बागमती प्रदेशगण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका केही स्थानमा तथा मधेश प्रदेशसहित बागमती र गण्डकीका तराई क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । यसैगरी, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशसुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका केही स्थानमा पनि वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

आज राति देशका हिमाली क्षेत्रमा सामान्य बदली रहने तथा पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका केही स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै, देशका अधिकांश स्थानमा तापक्रम क्रमशः बढ्दै जाने देखिएको छ । विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई, उपत्यका तथा खोँच क्षेत्रमा गर्मी बढ्ने अनुमान गरिएको छ । महाशाखाले वर्षा, चट्याङ तथा बढ्दो तापक्रमका कारण हुन सक्ने प्रभावलाई ध्यानमा राख्दै सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

Facebook Comments Box