प्रहरीले पछिल्लो २४ घण्टामा उपत्यकामा २६४० सवारी चालकमाथि कारबाही

काठमाडौँ,१०  वैशाख – काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकहरूलाई कारबाही गर्दै ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा २३ लाख २० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। बढ्दो सवारी चाप, अव्यवस्थित यातायात र दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै सञ्चालन गरिएको विशेष अभियानका क्रममा उल्लेख्य राजस्व सङ्कलन भएको ट्राफिक प्रहरीले जनाएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उपत्यकाका विभिन्न स्थानमा गरिएको व्यापक चेकजाँचका क्रममा कुल दुई हजार ६४० जना चालकलाई कारबाही गरिएको छ। कारबाहीमा परेकामध्ये मादक पदार्थ सेवन गरेर सवारी चलाउने १०१ जना, सवारीसाधनको अवस्था ठीक नभएका ३९ जना, रातो बत्ती उल्लङ्घन गर्ने १८० जना, तीव्र गतिमा सवारी चलाउने ८७ जना, लेन मिच्ने २७६ जना, ढोका खुल्ला राखेर सवारी चलाउने ८२ जना, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने ५२ जना, यात्रु चढाउने–ओराल्ने नियम उल्लङ्घन गर्ने ५५ जना तथा अन्य विभिन्न कसुरमा एक हजार ७९० जना चालक रहेका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले पछिल्लो समय सवारी दुर्घटनाका घटनाहरू बढ्दै गएकाले ‘सेफ ड्राइभिङ’ अभियानलाई थप प्रभावकारी बनाइएको जानकारी दिए। उनका अनुसार मुख्य चोक, व्यस्त सडकखण्ड तथा दुर्घटना सम्भावित क्षेत्रमा विशेष निगरानी बढाइएको छ।

Facebook Comments Box