फेरि सार्वजनिक यातायातको भाडा बढाउने तयारीमा सरकार

काठमाडौँ, १० वैशाख – सार्वजनिक सवारी साधनको भाडा पुनः बढाउने तयारीमा सरकार अघि बढेको छ। इन्धन मूल्यमा तीव्र वृद्धि भएपछि यातायात व्यवस्था विभागले भाडा समायोजनको प्रस्ताव तयार गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेस गरेको हो।

गत चैत २५ गते वैज्ञानिक प्रणालीअनुसार सार्वजनिक सवारी भाडा समायोजन गरिएको थियो। सो समयमा यात्रुवाहक सवारीमा १६.७१ प्रतिशत, पहाडी मार्गका मालवाहक सवारीमा २१.६८ प्रतिशत र तराई क्षेत्रका मालवाहक सवारीमा १५.७५ प्रतिशतले भाडा वृद्धि गरिएको थियो। भाडा समायोजनपछि डिजेलको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ।

समायोजन हुँदा प्रतिलिटर १८२ रुपैयाँ रहेको डिजेल हाल बढेर २३७ रुपैयाँ पुगेको छ, जसले यातायात क्षेत्रको लागतमा थप दबाब सिर्जना गरेको विभागको भनाइ छ। वैज्ञानिक भाडा समायोजन कार्यविधिअनुसार सवारी भाडामा पेट्रोलियम पदार्थको ३५ प्रतिशत र बिमा, कर, बैंक ब्याज, पार्टपुर्जा, टायर, लुब्रिकेन्टलगायत अन्य १३ सूचकको ६५ प्रतिशत योगदान रहने व्यवस्था छ।

साथै, इन्धनको मूल्यमा १५ प्रतिशतभन्दा बढी घटबढ भएमा स्वचालित रूपमा भाडा समायोजन गर्न सकिने प्रावधान छ। चैत २५ यता डिजेलको मूल्य करिब ३० प्रतिशतले बढिसकेको हुँदा सोही आधारमा भाडा पुनः समायोजन गर्नुपर्ने अवस्था आएको विभागले जनाएको छ। मन्त्रालयले प्रस्तावमाथि छलफल गरी आवश्यक निर्णय गर्ने तयारी गरेको छ।

Facebook Comments Box