हुलाकी सडक पूर्वपश्चिम राजमार्गको वैकल्पिक मार्ग बन्दै
बाँके, ३० कात्तिक – बाँकेमा निर्माणाधीन हुलाकी सडक पूर्वपश्चिम राजमार्गको सहज वैकल्पिक मार्गका रूपमा प्रयोग हुन थालेको छ। राप्तीसोनारी गाउँपालिका–६ कुण्डाचोकदेखि अगैयासम्मको खण्डमा सवारीसाधनको आवागमन तीव्र रूपमा बढेको छ। विशेषगरी नेपालगञ्ज–दाङ यातायात गर्ने यात्रुले दूरी छोटो हुने भएकाले हुलाकी मार्गलाई प्राथमिकता दिन थालेका छन्।
भेरी बस व्यवसायी सङ्घ नेपालगञ्जका अध्यक्ष जुनबहादुर थापाका अनुसार नेपालगञ्जबाट कोहलपुर हुँदै राजमार्गमार्फत अगैया पुग्नभन्दा हुलाकी सडक छोटो पर्छ। साथै, कोहलपुर–अगैया खण्डमा बाँके राष्ट्रिय निकुञ्जको टाइम कार्ड पालना गर्नुपर्ने भएकाले पनि वैकल्पिक रूपमा हुलाकी सडक प्रयोग बढ्दो छ।
हुलाकी सडक बनेपछि राप्तीपारिका बिनौना र बैजापुर क्षेत्रका बासिन्दालाई नेपालगञ्ज तथा गाउँपालिकाको केन्द्रतिर आवतजावत सहज भएको छ। फत्तेपुर–बैजापुर खण्ड कालोपत्र भएपछि राप्तीसोनारी गाउँपालिकाका सबै वडाका बासिन्दालाई यातायातमा सुविधा भएको प्रधानाध्यापक चेतबहादुर विष्टले बताए।
सडकसँगै पुल र कल्भर्ट निर्माण भएपछि गाउँपालिका कार्यालयसम्म पुग्ने यात्रा सहज बनेको वडाध्यक्ष रामलखन थारूको भनाइ छ। अगैयासँग जोडिने फत्तेपुर–बिनौना–बैजापुर मार्ग प्रयोग गर्दा नेपालगञ्ज पुग्न दूरी पनि घट्ने उनले बताए।
यसैबीच, राप्ती नदीको सिधनियाघाटमा ११ मिटर चौडाइको पक्की पुल निर्माण तीव्र गतिमा जारी छ। हालको साँघुरो पुलका कारण सवारीसाधन पालो कुरेर नदी पार गर्नुपर्ने बाध्यता हट्नेछ। निर्माणको ५० प्रतिशतभन्दा बढी प्रगति भएको र पुल बनेपछि हुलाकी मार्ग प्रयोग थप सहज हुने हुलाकी राजमार्ग निर्देशनालय, नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिए।

