बुटवलमा गर्भपतनका क्रममा महिलाको मृत्यु: छानबिन गर्न उच्चस्तरीय समिति गठन
काठमाडौं, ९ वैशाख – बुटवलस्थित एक स्वास्थ्य क्लिनिकमा गर्भपतन गराउने क्रममा महिलाको मृत्यु भएको घटनाबारे छानबिन गर्न नेपाल मेडिकल काउन्सिल ले उच्चस्तरीय समिति गठन गरेको छ।
काउन्सिलले बुधबार व्यावसायिक आचरण तथा स्वास्थ्य समितिको निर्णयअनुसार सम्राट पराजुलीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको जनाएको छ।
समितिमा स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्राडा पदमराज पन्त, डा. राजेन्द्र बस्याल, डा. अनुप पन्थी, कानुन विज्ञ गोविन्द मरासिनी र नागरिक समाजका प्रतिनिधि दिनेश पाण्डे सदस्य रहेका छन्।
गठित टोलीलाई बुटवलस्थित सम्बन्धित स्वास्थ्य संस्थामा स्थलगत अनुगमन तथा निरीक्षण गरी घटनाको वास्तविकता पत्ता लगाउन जिम्मेवारी दिइएको छ।
काउन्सिलका अनुसार छानबिन प्रक्रिया जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरी सँग समन्वय गरेर अघि बढाइनेछ। घटनामा दोषी देखिएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने काउन्सिलले जनाएको छ।

