गृहमन्त्रालय प्रधानमन्त्री बालेन शाहकै मातहतमा रहने

काठमाडौं, ९ वैशाख – बुधबार गृहमन्त्री सुदन गुरुङ ले पदबाट राजीनामा दिएका छन्। उनले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको प्रधानमन्त्रीका अनुसन्धान तथा प्रेस विज्ञ दिपा दाहालले जानकारी दिएकी छन्।

“गृहमन्त्रीज्यूले भर्खरै प्रधानमन्त्रीज्यूसमक्ष राजीनामा दिनुभएको छ,” दाहालले भनिन्। गुरुङको राजीनामासँगै गृहमन्त्रालय अब तत्कालका लागि प्रधानमन्त्री मातहत रहने दाहालले बताइन्। “तत्काललाई गृहमन्त्रालय प्रधानमन्त्रीज्यूकै मातहतमा रहनेछ,” उनले  भनिन्।

सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी दिपक भट्ट सँग गुरुङको व्यापारिक साझेदारी रहेको विषय सार्वजनिक भएपछि उनीमाथि दबाब बढेको थियो। साथै, उनले जेनजी आन्दोलनपछि ५० लाख रुपैयाँ बराबरको शेयर खरिद गरेको तथ्य पनि बाहिर आएको थियो।

यस प्रकरणपछि राष्ट्रिय स्वतन्त्र पार्टी भित्र र बाहिरबाट उनीमाथि आलोचना चुलिएको थियो भने विपक्षी राजनीतिक दलहरूले समेत राजीनामाको माग गरेका थिए।

Facebook Comments Box