काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सुरु
काठमाडौं, २ वैशाख – काठमाडौं महानगरपालिका को संयोजनमा राजधानी उपत्यकामा आजदेखि रात्रिकालीन बस सेवा सुरु गरिएको छ। महानगरको पहलमा उपत्यकाका अन्य पालिका र साझा यातायात को सहकार्यमा सेवा सञ्चालनमा आएको हो।
नयाँ व्यवस्थाअनुसार अब राति ८ बजेदेखि ११ बजेसम्म रात्रि बस सञ्चालन हुनेछ। ललितपुरको लगनखेलबाट सुरु हुने एक रुट पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल र गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म पुग्नेछ। उत्तर–दक्षिण दिशामा सञ्चालन हुने यस रुटको एकतर्फी दूरी १६ किलोमिटर रहेको छ।
यस्तै, थानकोटबाट सुरु हुने अर्को रुट सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तरराष्ट्रिय विमानस्थलसम्म सञ्चालन हुनेछ। पूर्व–पश्चिम दिशाको यस रुटको एकतर्फी दूरी २० किलोमिटर रहेको छ।
दुवै रुटमा चार वटा विद्युतीय बस सञ्चालन हुनेछन् भने तोकिएका बस स्टपहरूमा हरेक २० मिनेटमा बस उपलब्ध हुने जनाइएको छ। रात्रिकालीन बस सेवा शुभारम्भ कार्यक्रममा महानगरकी कार्यवाहक मेयर सुनीता डंगोल सहभागी थिइन्।

