कमजोर पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, २९ चैत – मौसम पूर्वानुमान महाशाखा का अनुसार हाल देशमा कमजोर पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसका कारण देशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको जनाइएको छ ।
आज दिउँसो हिमाली भेगमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराई क्षेत्रमा मौसम सफा रहनेछ । कोशी प्रदेश का पहाडी तथा हिमाली क्षेत्र र बागमती प्रदेश तथा गण्डकी प्रदेश का हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।
आज राति हिमाली क्षेत्रमा आंशिक बदली रहने तथा पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशका हिमाली भागका केही स्थानमा भने चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ । वर्षा तथा हिमपातको सम्भावना भएका क्षेत्रका सर्वसाधारण, यात्रु तथा सवारी चालकलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

