इस्लामाबादमा इरान–अमेरिका १४ घण्टा वार्ता, केही विषयमा मतभेद कायमै

काठमाडौं, २९ चैत – इरानअमेरिका बीच इस्लामाबाद मा झन्डै १४ घण्टा लामो वार्ता सम्पन्न भएको छ । शनिबार अपराह्नदेखि आइतबार बिहानसम्म दुई चरणमा गरिएको छलफल अहिलेका लागि स्थगित गरिएको हो । इरानी सरकारका अनुसार केही महत्वपूर्ण विषयमा मतभेद कायमै रहे पनि वार्ता पूर्ण रूपमा रोकिएको छैन । दुवै पक्षले मस्यौदा तथा आवश्यक कागजात आदानप्रदान गरेको जानकारी दिइएको छ ।

वार्ताको नेतृत्व अमेरिकी पक्षबाट उपराष्ट्रपति जेडी भान्स र इरानी पक्षबाट संसद्का सभामुख मोहम्मद बागेर गालिबाफ ले गरेका छन् । इरानले वार्ताका क्रममा लेबनन मा इजरायल ले गरिरहेको आक्रमण तत्काल रोक्न माग राखेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार वार्ता आइतबार पनि जारी रहने सम्भावना रहेको छ, तर औपचारिक रूपमा अर्को चरणको मिति तय भइसकेको छैन । सन् १९७९ को इस्लामिक क्रान्तिपछि दुई देशबीच यति उच्चस्तरीय प्रत्यक्ष वार्ता पहिलोपटक भएको मानिएको छ ।

Facebook Comments Box