इरान–अमेरिका युद्ध रोक्न ‘इस्लामावाद सम्झौता’ प्रस्ताव
काठमाडौँ, २३ चैत – पाकिस्तान ले इरान र अमेरिका बीच जारी द्वन्द्व रोक्न ‘इस्लामावाद सम्झौता’ नामक प्रस्ताव अघि सारेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्स का अनुसार प्रस्ताव सफल भएमा तत्काल युद्धविराम लागू भई विश्वकै महत्वपूर्ण व्यापारिक मार्ग स्ट्रेट अफ हर्मुज पुनः सञ्चालनमा आउन सक्नेछ।
यो प्रस्ताव असिम मुनिर ले अमेरिकी उपराष्ट्रपति जेडी भान्स, विशेष दूत स्टिभ विटकफ तथा इरानी विदेशमन्त्री अब्बास अराक्ची सँगको छलफलपछि तयार गरिएको बताइएको छ।
प्रस्ताव दुई चरणमा विभाजित छ। पहिलो चरणमा तत्काल युद्धविराम र ‘स्ट्रेट अफ हर्मुज’ खुला गर्ने सहमति समावेश गरिएको छ। दोस्रो चरणमा १५–२० दिनभित्र इस्लामावाद मा प्रत्यक्ष वार्ता गरी दीर्घकालीन शान्ति सम्झौतामा अन्तिम रूप दिने योजना रहेको छ।
सम्झौताअनुसार इरानले आणविक हतियार निर्माण नगर्ने प्रतिबद्धता जनाउनुपर्नेछ भने त्यसको बदलामा अमेरिकाले आर्थिक प्रतिबन्ध हटाउने तथा रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्ने प्रस्ताव गरिएको छ।
यद्यपि, इरानले भविष्यमा इजरायल र अमेरिकाबाट आक्रमण नहुने सुनिश्चितता सहितको स्थायी युद्धविराम चाहेको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प ले युद्ध अन्त्यका लागि दबाब दिइरहेका छन् भने पाकिस्तान, चीन लगायतका देशहरूले मध्यस्थतामा सक्रिय भूमिका खेलेका छन्।
हालसम्म इरान र अमेरिकाले औपचारिक प्रतिक्रिया नदिए पनि कूटनीतिक स्रोतहरूले चाँडै समझदारीमा पुग्ने सम्भावना रहेको जनाएका छन्।छ हप्तादेखि जारी द्वन्द्वका कारण विश्व बजारमा तेलको मूल्य र आपूर्ति प्रणालीमा गम्भीर असर परेको छ, जसले यो कूटनीतिक पहललाई थप महत्व दिएको छ।

