शनिबार र आइतबार सार्वजनिक बिदा
काठमाडौं, २२ चैत – सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले उक्त निर्णय गरेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार यो निर्णय सरकारी कार्यालय तथा सबै शैक्षिक संस्थामा भोलिदेखि लागू हुनेछ।
बैठकले ‘डिजिटल नेपाल ट्रान्सफर्मेसन’ परियोजनाका लागि एशियाली विकास बैंक र विश्व बैंक बाट नौ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ।
साथै, दिगो तथा समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट थप नौ करोड ५० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण लिने निर्णय भएको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन्।
त्यसैगरी, बैठकले सबै मन्त्रालय, सचिवालय, आयोग तथा अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्न स्वीकृति दिएको छ। बैठकले राष्ट्रिय समाचार समिति का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दिएको राजीनामा स्वीकृत गरेको छ।
साथै, डिजेल तथा पेट्रोलबाट सञ्चालन हुने सवारीसाधनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्ने नीति अघि बढाउने निर्णय गरिएको छ। सरकारले आगामी शैक्षिक सत्र वैशाख १५ गतेदेखि सञ्चालन गर्ने निर्णयसमेत गरेको छ।

