मतदाता नामावली सङ्कलन आजदेखि सुरु

काठमाडौँ, २२ चैत – निर्वाचन आयोग ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली सङ्कलन कार्य आजदेखि पुनः सुरु गरेको छ। आयोगले गत मङ्सिर ६ गतेदेखि स्थगित गरेको उक्त कार्यलाई चैत १८ गते बसेको बैठकले पुनः सञ्चालन गर्ने निर्णय गरेको हो। आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराई का अनुसार अब नामावली सङ्कलन प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको छ।

आयोगले राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नागरिकले सोही विवरणका आधारमा अनलाइन प्रणालीमार्फत मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने व्यवस्था गरेको जनाएको छ। राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध नभएकाहरूले ‘प्रि-इनरोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फारम भर्नुपर्नेछ। यसैगरी, फोटो र औँठाछापसहितको जैविक विवरणका लागि भने आवेदक स्वयं प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ।

मतदाता नामावलीमा भएका त्रुटि सच्याउने, दोहोरो नाम हटाउने, मृत्यु तथा बसाइँसराइका विवरण अद्यावधिक गर्ने कार्य पनि अब अनलाइनमार्फत गर्न सकिनेछ। साथै, नाम, थर, ठेगाना सच्याउने तथा पायक पर्ने मतदानस्थलमा नाम सार्ने सुविधा पनि उपलब्ध गराइएको छ। आयोगले सम्पूर्ण योग्य नागरिकलाई मतदाता नामावली सङ्कलन प्रक्रियामा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ।

Facebook Comments Box