पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, १८ चैत – जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसका कारण बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश लगायतका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदली भएको छ ।
हाल कोशी प्रदेश सहित विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी तथा तराई क्षेत्रमा आंशिक बदली रहनेछ । कोशी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थान र बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा एकदुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।
त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ । केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना कायम रहने जनाइएको छ । मौसममा आएको परिवर्तनका कारण पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङ र वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ ।

