आजदेखि संघीय संसद् अधिवेशन सुरु
काठमाडौँ, १९ चैत – गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि सुरु हुँदैछ । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुद्देश्यीय कक्षमा दिउँसो २ बजेका लागि आह्वान गरिएको छ । रामचन्द्र पौडेल ले चैत १६ गते मन्त्रिपरिषद्को सिफारिसमा दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो ।
संसद् सचिवालयका अनुसार बैठक सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भइसकेको छ । राष्ट्रियसभाको बैठक भने संसद् सचिवालयस्थित आफ्नै कक्षमा बस्नेछ । संविधानअनुसार प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र अधिवेशन बोलाउनुपर्ने व्यवस्था छ । निर्वाचन आयोगले चैत ५ गते परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएको थियो ।
प्रतिनिधिसभाको संरचना
दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी का १८२, नेपाली कांग्रेस का ३८, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का २५, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का १७, श्रम संस्कृति पार्टीका सात, राष्ट्रिय प्रजातन्त्र पार्टी का पाँच र एक स्वतन्त्र सांसद रहेका छन् ।
आजको सम्भावित कार्यसूची
बैठकमा तीन अध्यादेश प्रस्तुत गरिने सम्भावित कार्यसूची छ । गृहमन्त्री सुधन गुरुङले मतदाता नामावली (पहिलो संशोधन), प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) र नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश पेस गर्ने तयारी छ । बैठकको प्रारम्भमा ज्येष्ठ सदस्य/सभामुख अर्जुननरसिंह केसी ले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र तथा प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी विवरण पढेर सुनाउनुहुनेछ ।
साथै, प्रतिनिधिसभाले आफ्नो नियमावली नबनाएसम्मका लागि प्रतिनिधिसभा नियमावली २०७९ अनुसार कामकारबाही सञ्चालन गर्ने प्रस्ताव पनि प्रस्तुत गरिनेछ । अधिवेशनको पहिलो दिन दलगत रूपमा सांसदहरूले मन्तव्य राख्नेछन् भने सभामुखको निर्वाचनका लागि मिति तोक्ने कार्यसूची पनि रहेको छ । बैठकको अन्त्यमा पूर्व संविधानसभा सदस्य तथा राष्ट्रियसभा सदस्यहरूको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गरिने कार्यक्रम तय गरिएको छ ।

