आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’
भोजपुर, १ चैत – मलुवा पोखरी पछिल्लो समय पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा परिचित बन्दै गएको छ। टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा अवस्थित यो पोखरी सरकारले घोषणा गरेको घुम्नैपर्ने एक सय पर्यटकीय गन्तव्यअन्तर्गत पर्ने मुन्दुम पदमार्ग को यात्राका क्रममा भेटिने महत्वपूर्ण स्थल हो।
समुद्री सतहबाट करिब दुई हजार ५०० मिटर उचाइमा रहेको यो पोखरी घाँसेमैदानको बीचमा अवस्थित छ। वरिपरि फैलिएको हरियाली, शान्त वातावरण र प्राकृतिक सौन्दर्यले यहाँ पुग्ने पर्यटकलाई लोभ्याउने गरेको छ। बाह्रै महिना पानीले भरिएको रहने यस पोखरीको मनमोहक दृश्यले पदयात्रामा निस्कने पर्यटकलाई विशेष आनन्द दिने गर्दछ।
मुन्दुम पदमार्गमा पदयात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि मलुवा पोखरी विश्रामस्थलका रूपमा पनि परिचित बन्दै गएको छ। पदमार्गको यात्रामा निस्केका पर्यटक यहाँ पुगेर केही समय विश्राम गर्ने, फोटो खिच्ने तथा प्राकृतिक दृश्यावलोकन गर्ने गर्छन्।
पर्यटकको आकर्षण बढाउन पोखरीमा माछाका भुरासमेत हालिएको छ। पोखरी वरिपरि फैलिएको घाँसेमैदान र सुन्दर वातावरणले यस क्षेत्रलाई अझ आकर्षक बनाएको छ। वसन्तयाममा वरिपरि फुल्ने गुराँस तथा अन्य वनस्पतिले यस क्षेत्रको सौन्दर्यलाई थप मनमोहक बनाउने गरेको स्थानीयवासी बताउँछन्।
पर्यटन प्रवर्द्धनलाई ध्यानमा राख्दै गाउँपालिकाले पोखरी क्षेत्रको संरक्षण तथा व्यवस्थापनमा ध्यान दिएको सरोज बस्नेत ले जानकारी दिनुभयो। उहाँका अनुसार मुन्दुम पदमार्ग हुँदै आउने पर्यटकको सङ्ख्या बढेसँगै यस क्षेत्रको महत्व पनि बढ्दै गएको छ।
स्थानीय तहले पदमार्गको प्रचारप्रसारसँगै मलुवा पोखरी क्षेत्रलाई थप व्यवस्थित बनाउने योजना बनाएको जनाएको छ। प्राकृतिक सुन्दरता, शान्त वातावरण र मुन्दुम पदमार्गसँगको सम्बन्धका कारण मलुवा पोखरी पछिल्लो समय जिल्लाको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ।

