ढोरपाटनमा दादुरा नियन्त्रण बाहिरै

बागलुङ, १८ चैत – दादुरा सङ्क्रमण बागलुङको ढोरपाटन क्षेत्रमा अझै पूर्णरूपमा नियन्त्रणमा आउन सकेको छैन । गत फागुन ८ गतेदेखि ढोरपाटन नगरपालिका–७, ८ र ९ मा सङ्क्रमण फैलिएको थियो । फागुन २९ देखि चैत २ गतेसम्म खोप अभियान सञ्चालन गरेपछि सङ्क्रमितको सङ्ख्या केही घटे पनि अवस्था पूर्ण नियन्त्रणमा नआएको जनाइएको छ ।

विश्व स्वास्थ्य संगठन, प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङ र स्थानीय स्वास्थ्यकर्मीको संयुक्त टोलीले प्रभावित क्षेत्रमा पुगेर अध्ययन तथा खोप अभियान सञ्चालन गरेको थियो । प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्मा का अनुसार हालसम्म १३ जनामा सङ्क्रमण पुष्टि भएको छ भने ढोरपाटनसँगै तमानखोला गाउँपालिका मा दुई शङ्कास्पद बिरामी भेटिएका छन् ।

दादुराको लक्षण देखिएका ३३ जनाको नमूना सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ पठाइएको छ । हालसम्म २०५ जना शङ्कास्पद बिरामी रहेका छन् भने चार जना अस्पतालमा उपचाररत छन् । प्रदेश जनस्वास्थ्य कार्यालयका खोप सुपरभाइजर राजु खत्रीका अनुसार १० देखि १९ वर्ष उमेर समूहका पाँच हजार ९३४ जना बालबालिका तथा किशोरकिशोरीलाई खोप लगाइएको छ ।

तमानखोलामा पनि शङ्कास्पद बिरामी देखिएपछि पश्चिम बागलुङका चारवटै स्थानीय तहमा खोप अभियान विस्तार गर्ने योजना रहेको जनाइएको छ ।

Facebook Comments Box