सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीश
काठमाडौँ, १८ चैत – सपना प्रधान मल्ल आजदेखि कायम मुकायम (कामु) प्रधानन्यायाधीश बनेकी छन् । प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण मंगलबार अवकाश पाएपछि बरिष्ठतम न्यायाधीशका रूपमा मल्लले जिम्मेवारी सम्हालेकी हुन् । नेपालको संविधानको धारा १२९(९) अनुसार प्रधानन्यायाधीशको पद रिक्त हुँदा सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीशले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने व्यवस्था छ ।
बरिष्ठ अधिवक्ता तथा पहिलो संविधानसभा सदस्यसमेत रहेकी मल्ल २०७३ साउन १७ मा सर्वोच्च अदालत को न्यायाधीश नियुक्त भएकी थिइन् । करिब एक दशकको कार्यकालमा उनले लैङ्गिक न्याय, घरेलु हिंसा तथा संवैधानिक मुद्दामा महत्वपूर्ण नजिर स्थापित गरेकी छन् ।
यसअघि न्याय परिषद ले प्रधानन्यायाधीशका लागि योग्य ठहरिएका ६ न्यायाधीशको नाम संवैधानिक परिषद मा पठाएको थियो । सूचीमा मल्लसहित कुमार रेग्मी, हरि फुयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठ रहेका छन् ।
संविधानअनुसार सर्वोच्च अदालतमा कम्तीमा तीन वर्ष न्यायाधीश भइसकेको र ६५ वर्ष उमेर ननाघेको व्यक्ति प्रधानन्यायाधीश बन्न योग्य मानिन्छ । परिषदले पद रिक्त हुनुभन्दा एक महिनाअघि नै नाम सिफारिस गर्नुपर्ने व्यवस्था भए पनि हाल राजनीतिक कारणले प्रक्रिया अघि बढ्न सकेको छैन ।
प्रतिनिधिसभा विघटनसँगै परिषद निष्क्रिय रहेकाले नयाँ प्रधानन्यायाधीश सिफारिस प्रक्रिया रोकिएको छ । आगामी संसद् अधिवेशनपछि सभामुख, उपसभामुख तथा प्रमुख प्रतिपक्ष दलको नेता चयन भएसँगै परिषदले पूर्णता पाउने र त्यसपछि मात्रै नियुक्ति प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ ।

