गण्डकी प्रदेशसभाबाट जनस्वास्थ्य विधेयक सर्वसम्मत पारित

गण्डकी, १८ चैत – गण्डकी प्रदेशसभा को मङ्गलबार बसेको बैठकले गण्डकी प्रदेश जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ । विसं २०८१ चैत २२ गते दफाबार छलफलका लागि सामाजिक विकास तथा कृषि समितिमा पठाइएको उक्त विधेयक प्रतिवेदनसहित प्रदेशसभामा प्रस्तुत गरिएको थियो । दफाबार छलफलपछि विधेयक पारित भएको स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक ले जानकारी दिनुभयो ।

विधेयकमाथिको छलफलमा प्रदेशसभा सदस्य दिलमाया पौवी, कुसुम बुढा पुन, देवका पहाडी त्रिपाठी लगायतले भाग लिएका थिए । यसअघि बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ले समय अभावका कारण चालु हिउँदे अधिवेशनमा नयाँ विधेयक ल्याउन नसकिएको बताउनुभयो ।

उहाँले सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण र मितव्ययिता कायम गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । साथै प्रदेशको अधिकार स्थापित गर्न सबै पक्षबीच एकता आवश्यक रहेको उहाँको धारणा थियो । बैठकको शून्य समयमा प्रदेशसभा सदस्यहरू कल्पना तिवारी, डिल्लीराम सुवेदी, फणिन्द्र देवकोटा, भक्तबहादुर कुँवर, लिलबहादुर थापामगर र श्यामराजा महतले समसामयिक विषयमा आफ्ना धारणा राखेका थिए ।

Facebook Comments Box