केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, १५ चैत – मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव देखिएको छ। यसका कारण देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपात भइरहेको छ।
आज दिउँसो देशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। यी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाइएको छ। आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी, गण्डकी र कर्णालीका केही स्थान तथा बागमती प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले मेघगर्जन, चट्याङ तथा वर्षाका कारण हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारण तथा सरोकारवाला निकायलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

