काठमाडौँ विश्वविद्यालय ‘एचई उच्च शिक्षा र्याङ्किङ’मा १२२ औँ स्थानमा
काठमाडौँ, १० चैत – संयुक्त राज्य अमेरिकास्थित एक संस्थाद्वारा प्रकाशित ‘एचई उच्च शिक्षा र्याङ्किङ’मा काठमाडौँ विश्वविद्यालय विश्वका ५०७ विश्वविद्यालयमध्ये १२२ औँ स्थानमा परेको छ।
यस र्याङ्किङमा ९५ देशका विश्वविद्यालय सहभागी रहेका थिए। उच्च शिक्षामा प्रभाव मापन गर्न २५ मापदण्डअन्तर्गत १३६ सूचक प्रयोग गरिएको जनाइएको छ। र्याङ्किङ विशेषगरी दक्षिण एसिया, दक्षिण अमेरिका र पूर्वी युरोपका उदीयमान विश्वविद्यालयहरूको कार्यसम्पादन मूल्याङ्कनमा केन्द्रित रहेको छ।
उक्त संस्थाले विश्वविद्यालयहरूको वास्तविक सञ्चालन प्रक्रिया, नीति तथा कार्यसम्पादनका आधारमा मूल्याङ्कन गर्दै समग्र चित्र प्रस्तुत गर्ने गरेको जनाएको छ। प्रतिवेदनअनुसार काठमाडौँ विश्वविद्यालयले स्रोत व्यवस्थापन, शैक्षिक पारदर्शिता तथा भविष्य उन्मुख योजनामा उल्लेखनीय सम्भावना देखाएको छ।
र्याङ्किङका सूचकहरूमा समावेशिता, दिगो विकास, पारदर्शिता, उत्तरदायित्व, अनुसन्धान प्रणाली, क्याम्पस सुरक्षा, अन्तरराष्ट्रियकरण, शैक्षिक निष्ठा र डिजिटल पहुँचलगायतका विषय समेटिएका छन्।
‘एचई उच्च शिक्षा र्याङ्किङ’की सचिव नूरा अब्दुलजलीलले पठाएको इमेलमा यो उपलब्धि विश्वविद्यालयका नेतृत्व, प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा पूर्वविद्यार्थीको सामूहिक प्रयासको परिणाम भएको उल्लेख गरिएको छ। यसले शैक्षिक उत्कृष्टता र नवप्रवर्तनप्रतिको प्रतिबद्धता झल्काउने जनाइएको छ।
काठमाडौँ विश्वविद्यालयका शैक्षिक उत्कृष्टता निर्देशनालय प्रमुख हेमराज काफ्लेले उक्त प्रतिवेदनले विश्वविद्यालयको संस्थागत सञ्चालनबारे महत्वपूर्ण अन्तरदृष्टि प्रदान गरेको बताए। उनले यसले भविष्यमा अन्य अन्तरराष्ट्रिय र्याङ्किङमा सहभागिता जनाउन आवश्यक तथ्याङ्क सुदृढ गर्न सहयोग पुग्ने धारणा व्यक्त गरे।

