मिथिलाञ्चलमा आजदेखि चैती छठ पर्व सुरु

महोत्तरी, ८ चैत – नेपाल र भारतका सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा आजदेखि चैती छठ पर्व विधिवत् रूपमा सुरु भएको छ। चार दिनसम्म विविध धार्मिक विधि र परम्पराअनुसार मनाइने यो पर्व तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा र पर्सालगायत जिल्लामा धुमधामका साथ मनाइँदैछ।

महोत्तरीका जलेश्वर, मटिहानी, गौशाला, बर्दिबासलगायत क्षेत्रका पोखरी, तलाउ तथा नदी किनारमा श्रद्धालु भक्तजनको भीड लाग्न थालेको छ। विशेषगरी बिग्ही, रातो मरहा, जङ्गहा र अंकुसी नदी किनारमा छठ मनाउने परम्परा रहेको छ।बाबा जलेश्वरनाथ महादेव मन्दिरका पुजारी कामेश्वर पाठकका अनुसार सत्य, अहिंसा र सबै जीवप्रति सहानुभूति बढाउने सन्देश दिने यो पर्व सूर्य उपासनाको विशेष परम्परा हो। यसमा अस्ताउँदो र उदाउँदो सूर्य दुवैको पूजा गरिन्छ।

पारिवारिक सुख, शान्ति, समृद्धि र स्वास्थ्यको कामना गर्दै श्रद्धापूर्वक मनाइने यस पर्वका अवसरमा जलाशयहरूमा भक्तजनको ठूलो घुइँचो लाग्ने गर्दछ। चार दिनसम्म चल्ने छठ पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधिबाट सुरु हुन्छ, जसमा व्रतालुले स्नान गरी शुद्ध भोजन ग्रहण गर्छन्। दोस्रो दिन ‘खर्ना’ मनाइन्छ, जसमा दिनभर उपवास बसेर राति छठ देवतालाई निम्तो दिँदै पूजा गरिन्छ।

तेस्रो दिन षष्ठीका अवसरमा ठकुवा, भुसवा, खजुरिया, पेरुकियालगायतका परिकार तथा विभिन्न फलफूलसहित साँझ अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरिन्छ। चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि पर्व सम्पन्न हुन्छ। धार्मिक ग्रन्थअनुसार महाभारतकालमा पाण्डवहरूले अज्ञातवास सफल होस् भनी सूर्यदेवको आराधना गरेपछि छठ पर्वको परम्परा सुरु भएको जनविश्वास छ।

साथै सूर्य पुराणमा उल्लेख भएअनुसार अनुसुइयाले पहिलोपटक छठ व्रत गरेको मानिन्छ। धार्मिक आस्थासँगै सामाजिक सद्भावको प्रतीक बनेको यो पर्व हिन्दू मात्र नभई अन्य समुदायले पनि श्रद्धापूर्वक मनाउने गर्छन्।

Facebook Comments Box